काठमाडौँ । आषाढ शुक्ल पूर्णिमाका दिन मङ्गलबार खण्डग्रास (आधा चन्द्रमा ढाक्ने) चन्द्रग्रहण लाग्दैछ ।

नेपाल एष्ट्रोनोमिकल सोसाइटीले मौसमले साथ दिएमा नेपालका सबै भागबाट पृथ्वीको छाया चन्द्रमामा आंशिक रुपमा परी ग्रहण लागेको देख्न सकिने जनाएको छ । ग्रेगोरियन पात्रोअनुसार ग्रहण जुलाई १७ तारिखको बिहान र नेपाली पात्रोअनुसार असार ३१ गते राति पर्छ । नेपाली पात्रोअनुसार सूर्योदयदेखि सूर्योदयसम्मको समयलाई एक दिन गणना गरिन्छ । ग्रेगोरियन पात्रोले मध्यरातदेखि मध्यरातसम्मको समयलाई एक दिन गणना गर्ने भएकाले समय फरक पर्न गएको सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए ।

चन्द्रग्रहण अवलोकन गर्न चाहनेले निर्धक्क भएर आफ्नो घर वा घर छेउमा रहेको खुला चौरबाटै नाङ्गो आँखाले अवलोकन गर्न सक्ने पनि सोसाइटीले जनाएको छ । वैज्ञानिक मान्यतानुसार चन्द्रग्रहण हेर्दा कुनै हानिनोक्सानी नहुने अध्यक्ष भट्टराईले बताए ।

मङ्गलबार राति १ः४६ बजे सुरु हुने खण्डग्रास ग्रहणले चन्द्रमालाई ढाक्दै जाने क्रममा राति ३ः१५ बढी ढाक्नेछ । पूरै ढाक्ने भएको भए यसलाई खग्रास भनिन्थ्यो । अवलोकनकर्ताले १ः४६ बजेदेखि दुई घण्टा ५८ मिनेटसम्म अर्थात् ४ः४४ बजेसम्म चन्द्रमाको केही भागलाई तामा रङमा देख्न सक्नेछन् । यस अवधिलाई नै खण्डग्रास चन्द्रग्रहण भनिन्छ ।

ग्रहण नेपाललगायत भारत, चीन, मङ्गोलिया, जापान, रुस तथा अफ्रिका, दक्षिण अमेरिका, युरोप र अष्ट्रेलिया महादेशबाट देख्न सकिन्छ । क्यानडा तथा उत्तर अमेरिकामा बसोबास गर्ने मानिसले ग्रहण अवलोकन गर्न पाउने छैनन् । एकाइसौँ शताब्दीमा पर्ने ८५ चन्द्रग्रहणमध्ये यो एक रहेको जनाइएको छ ।

सूर्यग्रहण हेर्दा सूर्यबाट आएका किरणलाई आँखाभित्र पस्न नदिन विभिन्न सावधानी अपनाइन्छ । चन्द्रग्रहण जो कोहीले पनि नाङ्गो आँखाले सजिलै हेर्न सक्छन् । चन्द्रग्रहण टेलिस्कोप, वाइनाकुलर, क्यामरा वा अरु कुनै सामग्रीले हेर्दा केही असर गर्दैन । चन्द्रग्रहणमा आँखालाई हानिनोक्सानी पु¥याउने खालका किरण आएका हुँदैनन् ।

Comments

comments