काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आयोजनामा १२ र १३ अक्टोबरमा दुईदिने विज्ञ सम्मेलन र विधानसभाको आयोजना हुँदै छ । विदेशमा रहेर विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका नेपालीहरू र नेपालप्रति चासो राख्ने विदेशी विज्ञहरूसँग नेपालमा अध्ययन, अनुसन्धान तथा विकासमा संलग्न विश्व–विद्यालय, अनुसन्धान केन्द्र तथा व्यावसायिक संस्थालाई जोड्ने अभिप्रायले आयोजना गर्न लागिएको सम्मेलन संयोजक डा. हेमराज शर्माले बताउनुभयो ।

आजसम्म विदेशमा हामीले कमाएको पुँजी मात्रै नेपाल भित्रिरहेको तर अबका दिनमा विदेशमा सिकेको ज्ञान, सीप र अनुभवलाई पनि नेपालको समृद्धिका लागि उपभोग गर्नुपर्छ भन्ने महसुस भएरै यो सम्मेलनको आयोजन गर्न लागेको उहाँले बताउनुभयो ।

विदेशमा बसेर नेपाली दाजुभाइ दिदीबहिनीले सिकेका ज्ञान, सीप, र प्रविधिको नेपाल सुहाउँदो प्रयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा ठोस निष्कर्ष निकाल्ने र सोही अनुसारको नीति निर्माणमा सरकारको ध्यानाकर्षण गराउने सम्मेलनको उद्देश्य भएको उहाँले जानकारी दिनुभयो । नेपालमा विद्यमान नीति के कस्ता छन्, विश्वमा के कस्ता नीति अभ्यासमा छन् र तिनीहरूलाई नेपालको परिप्रेक्षमा कसरी सान्दर्भिक बनाउने भन्नेमा जोड रहनेछ । राष्ट्रले कल्पना गरेको ‘समृद्ध नेपाल’ निर्माण गर्नका लागि दक्ष गैरआवासीय नेपालीहरूको पहिचान गर्दै उनीहरूको ज्ञान र सीपलाई कसरी सदुपयोग गर्न सकिन्छ भन्नेबारे पनि सम्मेलन केन्द्रित रहने उहाँले बताउनुभयो ।

यही सम्मेलनमार्फत समृद्ध नेपाल निर्माणका लागि आवश्यक जनशक्तिदेखि ज्ञान र सीप हामीसँग पर्याप्त छ कि छैन भन्ने विषयलाई पनि प्रस्ट पार्न खोजिएको उहाँको भनाइ छ ।

वैदेशिक रोजगारमा जानेहरू पनि विकसित देशको सीप र प्रविधिमा पोख्त भइसकेका छन् । उनीहरूले आफूले सिकेको सीपलाई नेपालका लागि सदुपयोग गर्न चाहन्छन् । नेपाल सरकार र एनआरएनले उनीहरूका लागि उपयुक्त वातावरण बनाउनुपर्छ भन्ने सोचका साथ यो सम्मेलन आयोजना गर्न लागिएको आयोजकको दाबी छ ।

संघका प्रवक्ता चिरन शर्माका अनुसार होटल सोल्टीमा हुने सम्मेलनको पहिलो दिन साझाको उद्घाटन र दोस्रो दिन चारवटा प्लेनरी सत्र आयोजना हुनेछ । पहिले सत्रमा नेपालको विज्ञान तथा प्रविधिको नीति, प्राविधिक जनशक्तिको अवस्थालगायत विषयमा छलफल हुनेछ । दोस्रो सत्रमा ज्ञानमा आधारित आर्थिक विकास र देशले लिने आर्थिक विकासको बाटोबारे छलफल हुनेछ । तेस्रो सत्रमा नेपाललाई उपयुक्त हुने नयाँ प्रविधिको सम्भावना र यस क्षेत्रमा लगानी विषयमा छलफल हुनेछ । साथै नेपालको विकासको नीति निर्माणमा डायस्पोराको कस्तो भूमिका हुन्छ भन्ने विषयमा केन्द्रित सत्रहरू पनि समावेश गरिनेछ । दोस्रो दिन कृषि स्वास्थ्य, शिक्षा, भौतिक विकास तथा इन्जिनियरिङ, वैकल्पिक ऊर्जा, विज्ञान तथा प्रविधि, जोखिम न्यूनीकरण, वातावरणीय प्रदूषणदेखि लिएर फाइनान्सियल रेफर्म, सामाजिक सुरक्षालगायतका समानान्तर सत्रहरू रहनेछन् । तेस्रो दिनको कार्यक्रममा आमन्त्रितको मात्र सहभागिता हुने र त्यहाँ सम्मेलनको समीक्षा, निष्कर्ष र भविष्यको रणनीति तयार गरिने बताइएको छ ।

सम्मेलनका सबै विषयहरू आमजनजीविकासँग जोडिएका छन् । यसका साथै सरकारका विकासका प्राथमिकतामा परेका विषय पनि छन् । जस्तो भनौं, कृषि उत्पादन र ऊर्जामा स्व–निर्भरता, सुरक्षित खाद्य पदार्थ, वातावरणीय प्रदूषण न्यूनीकरण, व्यवस्थित सहरको विकास, पूर्वाधार विकास, जलविद्युत्, व्यावसायिक शिक्षा, स्वास्य शिक्षा, संघीयतामा शिक्षाको मोडल आदि थुप्रै विषयमा यस सम्मेलनमा छलफल हुनेछ ।

नेपालमा कृषिजन्य पदार्थ र जडीबुटीको प्रशोधन तथा व्यावसायिक विधिका लागि इनोभेसन को–क्रिएसन सेन्टर खोली उद्यमशीलता कसरी विकास गर्न सकिन्छ भन्नेबारे छलफल गर्ने छुट्टै सत्रको आयोजना गरिनेछ । नेपालभित्र र बाहिर कार्यरत विज्ञहरू, नेपालबारे चासो राख्ने विदेशी विज्ञहरू, नेपाल सरकारका नीति निर्माता, स्वतन्न्त्र बुद्धिजीवी, नेपालको निजी क्षेत्र, नेपालस्थित कूटनीतिज्ञलगायत सबै क्षेत्रका विज्ञको सम्मेलनमा सहभागिता रहनेछ ।

सम्मेलनमा करिब १५० कार्यपत्र प्राप्त भएका छन् भने थप ५० जना प्यानलिस्ट हुने बताइएको छ । आयोजकका अनुसार सम्मेलनमा १ करोडभन्दा बढी खर्च हुनेछ । यो खर्च एनआरएनए वा सरकारको कोषबाट नभई स्पोन्सर र प्रवेश शुल्कबाट उठाइने बताइएको छ ।

Comments

comments