काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) बालुवाटारस्थित आफ्नै भवनमा सरेको छ।

२४ करोड रुपैयाँ लागतमा निर्माण भएको भवनको बिहीबार राति एनआएनए नेताहरुले संयुक्त रुपमा उद्घाटन गरेका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष भवन भट्टले प्रधानमन्त्री र सभामुखको निवास रहेको बालुवाटारजस्तो अत्यन्त सुरक्षित स्थानमा एनआरएनएको केन्द्रीय भवन स्थापना गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै निवर्तमान अध्यक्ष शेष घलेले नेपालमै बसोबास गर्नेदेखि विदेशमा रहेका नेपाली विद्यार्थीसम्मले भवन निर्माणमा सहयोग पुर्याएको स्मरण गर्नुभयो । ‘एक जना महिला आफ्ना छोराछोरी भेट्न अष्ट्रेलिया आउनु भएको थियो। उहाँ एनआरएन होइन तर उहाँले नेपाली रुपैयाँमा सहयोग गर्नुभयो’, घलेले रकम संकलनका दिन स्मरण गर्दै भन्नुभयो, ‘जापानमा हाम्रो क्षेत्रीय सम्मेलनमा फन्ड रेजिङ गर्दै जाँदा नेपालबाट जानुभएका पत्रकारहरुले गोजीबाट निकालेर नेपाली रुपैयाँ सहयोग गर्नुभयो। उहाँहरुको नाम मलाई थाहा छैन। आज म उहाँहरुलाई धन्यवाद दिन चाहन्छु।’ भवन निर्माणमा सहयोग गर्ने सबैको रेकर्ड राख्नुपर्ने उहाँको भनाई थियो।

एनआएनए उपाध्यक्ष कुमार पन्तले भवन निर्माणमा निवर्तमान अध्यक्ष शेष घले र जमुना गुरुङको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो। एनआरएनए संरक्षक एवं पूर्व उपाध्यक्ष जीवा लामिछानेले १४ वर्षसम्म गैरआवासीय नेपाली संघलाई सचिवालय प्रदान गर्ने नेपाल उद्योग वाणिज्य महासंघलाई धन्यवाद ज्ञापन गर्नुभयो।

Comments

comments