काठमाडौं । जिम्बावेमा भएको विश्वकप छनोटमा नेपाल सुपर सिक्समा पुग्न नसके पनि ऐतिहासिक उपलब्धिको रुपमा एकदिवशीय मान्यता हासिल गरेर सोमबार स्वदेश फर्किएको छ ।

विमानस्थलमा खेलकुदमन्त्री जगत विश्वकर्मा, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्टले नेपाली टोलीको स्वागत गरे ।

बिमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले एकदिवशीय मान्यताको उपलब्धि ऐतिहासिक भएको बताउँदै यसले क्रिकेट बिकासका लागि आर्थिक सहयोग, खेलाडीको सुविधा लगायतमा सुधार हुने बताए ।

‘इतिहासकै सबैभन्दा ठूलो उपलब्धि पाएका छौं, नेपाली क्रिकेटलाई अर्को युगमा लग्नका लागि, यसले एउटा आधार खडा गरेको छ ।’ कप्तान पारसले भने ।

कप्तान पारसले क्रिकेटले हासिल गरेको यो उपलब्धि सबैका लागि खुसीको बाहाना भएको बताउँदै क्रिकेटको माध्यमबाट सबै देशवासीलाई खुसी तुल्याउन पाउँदा गर्व महशुस भएको बताए ।

क्रिकेट विवादसम्बन्धी सोधिएको प्रश्नमा कप्तान पारसले आफूहरुले आफ्नो जिम्मेबारी पूरा गरेको र सुधार गर्नुपर्ने कामका लागि अवसर सृजना गरिदिएको धारणा राखे । ‘हामीले आफ्नो जिम्मेबारी पूरा गरेका छौं, यसले अरु कमी कमजोरीलाई पनि सुधार गर्ने अवसर दिएको छ, विवाद समाधान, भोतिक संरचनाको बिकासदेखि राम्रो संरचनाको क्रिकेट बिकास नगरी हामीले एकदिवशीय मान्यता पाएको अर्थ हुँदैन ।’ कप्तान पारसले भने ।

उनले मैदान बाहिरको नराम्रो पक्ष सबै मिलेर सुधार गर्नुपर्ने भन्दै ब्यक्ति गन्दा क्रिकेटलाई केन्द्रमा राखेर काम गरिए सबै विवादहरुको समाधान सहज रहेको प्रतिक्रिया दिए ।

क्रिकेट इतिहासमा पहिलो पटक एकदिवशीय मान्यता दिलाएको नेपाली टोलीको अबको टार्गेट विश्वकप हुँदै आगामी १०–१२ वर्षमा टेष्ट मान्यता पाउने हुनुपर्ने कप्तान पारसले बताए ।

उनले भने, ‘यो विश्वकपमा छनोट हुन सकेनौं, हाम्रो टार्गेट अर्को विश्वकप खेल्ने हो र आगामी १०÷१२ वर्षभित्रमा टेष्ट मान्यता पाउने गरी योजना बनाउनुपर्छ ।’

त्यस्तै नेपाली टोलीका सिनियर सदस्य बसन्त रेग्मीले लामो समयदेखिको सपना सार्थक भएकोमा गौरबान्दित महशुस भएको बताए ।

नेपाली टोली जिम्बावेमा भएको विश्वकप छनोटमा दुई खेलमा जित हासिल गरी एकदिवशीय मान्यता हासिल गरेर सोमबार स्वदेश फर्किएको हो ।

Comments

comments