काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले अब क्यारिबियन प्रिमियर लिग (सिपिएल) खेल्ने पक्का भएको छ । बिहीबार लन्डनमा भएको अक्सनको दौरान सन्दीपलाई सिपिएलको सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सले ५ हजार अमेरिकी डलर तिरेर आफ्नो टिममा आवद्ध गराएको हो ।

यो टिममा क्रिस गेल, एविन लिविस, बेन कटिङ, कार्लोस ब्राथवेटजस्ता खेलाडीहरु भित्रिसकेका छन् । गत वर्षझैं यसपालि पनि टिमको कप्तानी क्रिस गेलले निर्वाह गर्ने सम्भावना छ । प्याट्रियट्सले आफ्नो ट्विटरमार्फत् सन्दीपलाई बधाई तथा स्वागत गरेको छ । सन्दीपले पनि ट्विटरमा खुसी व्यक्त गर्दै सम्बन्धित सबैलार्इ धन्यवाद दिएका छन् ।

६ वटा टिम सहभागी सिपिएल आगामी अगस्ट ८ देखि सुरु हुँदैछ । सेप्टेम्बर १६ मा यसको फाइनल खेल हुनेछ । टि(२० फर्म्याटमा खेलाइने सिपिएलको यसपालि छैटौं संस्करण हुन लागेको हो ।

सिपिएल समिति र क्रिकेट वेस्ट इन्डिजबीचको सहमतिमा लिगको सेड्युल तयार भइसकेको छ । सिपिएलका प्रारम्भिक चरणका खेलहरु गुयना र ट्रिनिडाड एन्ड टोबागोमा आयोजना गरिनेछन् ।

सन्दीप यसअघि नै आईपिएलको दिल्ली डेरडेभिल्समा छनोट भैसकेका छन् । आईपिएल चाहिँ आगामी अप्रिल ४ देखि मे ३१ सम्म चल्नेछ । सन्दीप अहिले जिम्बावेमा विश्वकप छनोट खेल्न नेपाली टोलीसँग रहेका छन् । उनलार्इ छनोट टुर्नामेन्टकै १० स्टार खेलाडीको सूचीमा पनि समावेश गरिएको छ ।

Comments

comments