एजेन्सी । प्योङयाङविरुद्ध सैन्य आक्रमण गर्नुपूर्व अमेरिकाले गोप्य रूपमा साइबर हमला गर्न लागेको उत्तर कोरियाले आरोप लगाएको छ ।

अमेरिकी केन्द्रीय गुप्तचर संस्थाहरु अहिले साइबर हमलाको तयारीमा रहेका र यसका लागि अमेरिकाले अर्बौं डलर बराबरको खर्च गर्न लागेको उत्तर कोरियाको दावी छ ।

हमलाको सामना गर्न आफ्ना विज्ञहरूलाई तालिमसमेत दिइसकिएको उत्तर कोरियाले जनाएको छ । एनबिसी, ब्लुमवर्ग न्यूज तथा वासिङ्टन पोष्टजस्ता अमेरिकी सञ्चारमाध्यमले ‘साइबर आतंक’ को कारण अमेरिकालाई उत्तर कोरियाबाट ‘खतरा’ रहेको बारेमा लेखेका छन् ।

अमेरिकी सञ्चारमाध्यमहरुको टिप्पणिलाई प्योङयाङविरुद्धको अमेरिकी कदम व्यवहारिक कार्यान्वयनको चरणमा रहेको अर्थमा उत्तर कोरियाली अधिकारीले अर्थ्याएका छन् ।

अमेरिकाले दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यासका क्रममा ठूलो संख्यामा साइबर युद्ध विज्ञलाई पठाइएको उत्तर कोरियाको कन्द्रीय समाचार संस्था केसिएनएले उल्लेख गरेको छ । अमेरिकाले उत्तर कोरियाविरुद्ध पटक पटक लगाउँदै आएको नाकाबन्दी र अमेरिकी राष्ट्रपति ट्रम्पको रुखो अभिव्यक्तिका कारण उत्तर कोरिया रुष्ट बन्दै आएको छ ।

Comments

comments