काठमाण्डौ ।  सरकारले प्रा.डा. गोविन्दप्रसाद पोखरेललाई पुनः राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्त गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले प्राधिकरणका तत्कालीन सिइओ सुशील ज्ञवालीलाई बर्खास्त गर्दै पोखरेललाई दोस्रोपटक सिइओ नियुक्त गरेको हो ।

ज्ञवालीलाई दुईपटक स्पष्टीकरण सोधे पनि जवाफ चित्तबुझ्दो नभएको भन्दै बैठकले उनलाई हटाउने निर्णय गरेको हो । नवनियुक्त सिइओ पोखरेलले बुधबार नै कार्यभार सम्हालेका छन् ।

पोखरेल पहिलोपटक २८ साउन ०७२ मा प्राधिकरणको सिइओ बनेका थिए । सुशील कोइराला नेतृत्वमा बनेको तत्कालीन सरकारले योजना आयोगका उपाध्यक्ष रहेका पोखरेललाई नै सिइओको जिम्मेवारी दिएको थियो । त्यसवेला राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अध्यादेशअन्तर्गत प्राधिकरणले काम गरेको थियो भने पोखरेल सिइओ बनेका थिए । तर, सरकारले समयमै राष्ट्रिय पुनर्निर्माण प्राधिकरण प्रतिस्थापन विधेयक संसद्बाट पारित गर्न नसक्दा प्राधिकरण निष्क्रिय भयो भने पोखरेल पनि सिइओबाट बाहिरिएका थिए ।

Comments

comments