काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पृथ्वीनारायण शाहको भुमिकालाई नदेख्नु भनेको इतिहासको भौतिकवादी ब्याख्या भन्दा बाहिर जानु र इतिहासको विकासको क्रमलाई इन्कार गर्नु जस्तै हुने बताउनुभएको छ ।

नेपाल एकीकरण गर्ने राजा पृथ्वीनारायणको जन्म जयन्तिको अघिल्लो दिन चितवनमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री दाहालले शाहको प्रशंसामा प्रशस्तै समय खर्चिनु भएको हो । प्रधानमन्त्री दाहालले त्यो बेला छिमेकी भारतमा अंग्रेजहरुले साना साना भुरे टाकुरे राज्यहरुलाई निल्दै विशाल साम्राज्य खडा गरेको स्थितिमा नेपाल बलियो र शक्तिशाली नभएको भए यसको अस्तित्व इतिहासबाटै लोप हुने खतरा रहेको बताउनुभयो । उहाँले राजा पृथ्वीनारायणको शालिक भत्काउनु पर्छ भन्ने उन्माद बोकेर हिँडेका आफ्ना पार्टी भित्रका कार्यकर्तालाई समेत त्यसो नगर भनेर आफूले कडा निर्देशन दिएको खुलासा गर्नुभयो । उहाँले नेपाललाई केन्द्रिकृत बनाउन पृथ्वीनारायणले खेलेको भूमिकालाई सकारात्मक रुपमै लिनुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री दाहालले मधेस र आदिवासी जनजातिकाबीचमा शाहको भूमिकालाई कसरी हेर्ने भन्ने बहस रहेको पनि बताउनुभयो ।

Comments

comments