-कामना न्यौपाने
तिमी
क्याण्डल लाईट डिनरमा
मस्त भइरहँदा,
म पग्लिरहेको
मैनबत्ती नियाल्दैछु 
तिमीले कलशमा
फूलहरु सजाउँदै गर्दा,
म निरीह बनेका
कांडाहरु हेर्दैछु
तिमीले बुट्टाइएका
अक्षरहरु सुम्सुमाउँदा,
म घस्रिएको निमको
संघर्ष देख्दैछु …
 
म कसरी तिमीसँगै
तालमा ताल
मिलाएर नाचूँ ?
 
मलाई ,
रापले पग्लिएर
तप तप झरेका
आँशुहरु बटुलनुछ ,
तिम्रो रोमान्टिक
डेटको लागि
शहीद बनेका ती
मैनबत्तीका पीड़ाका
गाथा गाउनुछ …
म कसरी तिमीसँगै
भजनमा झूमूँ ?
 
मलाई ,
अपहेलित र तिरस्कृत
तीखा काँडाको
घाउ नियाल्नुछ,
आत्मसमर्पण गरि
फूलसँग बिछोडिएका
ती सुरक्षागार्डको
व्यथा सुन्नुछ …
 
म कसरी
तिम्रो लयमा
गीत गाउँ ?
 
मलाई ,
तिम्रो औलांमा च्यापिएर
तिम्रै रफ्तारमा घस्रिएको
त्यों नीमको दुखाई
महसूस गर्नुछ ,
पिडामा पिल्सिएर
मसी बुट्टयाउने
त्यों कला सिक्नुछ …
 
हिंडनदेऊ मलाई
आफ्नै बाटो,
तिमीले देखेको संसार
र मैले बुझेको संसार
भिन्न छ !!!

Comments

comments