मेलबर्न । यो समानतको बहस तीव्र भैरहेको बेला हो । त्यसमा पनि जीवन सबैको उस्तै हो तर भोगाई भने फरक फरक हुन सक्छन् । त्यसले फरक फरक अनुभवहरु दिलाउँछन् । अरुका जीवन भोगाइ र अनुभव कसैका लागि पाठ,प्रेरणाको स्रोत बन्न सक्छन् । यही कुरालार्य मध्यनजर राख्दे हिमालयन कङ्गारुले अष्ट्रेलियामा अध्ययन गरिरहेका नेपाली विद्यार्थीहरुका अनुभवहरु प्रस्तुत गर्दै आएको छ–स्टुडेन्ट टल्कमा । त्यही क्रममा यसपटक हामीले पर्थमा नर्सिङ विषयमा स्नातक गर्दै गरेका प्रमोदा आचार्यका अनुभूतिहरु प्रस्तुत गर्दैछौं ।

तपाईको नाम ?

मेरो नाम प्रमोद आचार्य हो ।

नेपालमा तपाईको घर कहाँ हो ?

नेपालमा मेरो घर नुवाकाटेमा पर्छ ।

अहिले कहाँ पढ्दै हुनुहुन्छ ?

म अहिले अष्ट्रेलियाको पर्थमा अवस्थित इडिथ कोवान युनिभर्सिटीमा पढ्दैछु ।

के विषय लिएर पढ्दै हुनुहुन्छ ?

म यहाँ नर्सिङ विषय लिएर अध्ययन गर्दैछु । नेपालमा नर्सिङ विषय केटी मान्छेले मात्र पढ्छन् भन्ने मान्यता छ । तर अष्ट्रेलिया र भारत लगायतका देशहरुमा नर्सिङ पढ्ने केटाहरु पनि धेरै हुन्छन् ।

तपाई आफैंले यो विषय रोज्नुभएको हो कि परिवारको छनौट ?

मेरो परिवारले कहिले पनि मलाई यो विषय पढ भनेर कर गर्नुभएन । नेपालमा पनि आफ्नै खुशीले रोजेको विषय पढें । अहिले यहाँ अष्ट्रेलियामा पनि आफैंले रोजेको विषय पढ्दैछु ।

विद्यार्थी जीवन किन रमाइलो ?

विद्यार्थी जीवन सबै दृष्टिकोणले रमाइलो छ । जस्तो कलेजमा भेट्ने नयाँ साथीहरु । अष्ट्रेलियाकै कुरा गर्ने हे भने यहाँ विभिन्न देशबाट आएका विद्यार्थी साथीहरु एउटै कक्षामा छौं । फरक फरक भाषा,अलग अलग संस्कृति भएका देशका साथीहरु एकै ठाउँमा बसेर कुराकानी र अनुभवहरु साट्न पाउँदा छुट्टै रमाइलो हुन्छ । अनि कहिलेकाहीं लेक्चररहरुसँग पनि मित्रवत कुराकानी हुन्छ,त्यतिखेर झनै रमाइलो लाग्छ । कक्षामा साथीहरुसँग मिलेर गर्ने विभिन्न रमाइला हर्कतहरुले जिन्दगीलाई बोरिङ हुनै दिदैन ।

विद्यार्थी जीवन कतिखेर नरमाइलो लाग्छ ?

विद्यार्थी जीवनमा सबभन्दा गाह्रो भनेको आफ्नो टाइम टेबल म्यानेज गर्न हो । अष्ट्रेलियामा काम नगरि कोही बस्न सक्दैनन् । कति विद्यार्थीले त्यही काम नै नपाएर टेन्सनमा बस्न परिरहेको छ । काम पाएपछि पनि काम र कलेजको समय मिलाउँनै गाह्रो पर्छ । राति अबेलासम्म काम गरेर फक्र्यो घडीमा अलार्म लगाएर सुतनुपर्छ । कहिले काही त यति थाकिन्छ कि अलार्म त के भुइँचालो नै गए पनि थाहा पाइन्न । अनि अलार्मले उठाएपछि उठ्यो,आँखा मिच्दै कलेज गयो । कहिलेकाहीं त कक्षामा पढाएको केही बुझ्नै नसक्ने हुन्छ,निन्द्राले । हाम्रो नेपालको शैक्षिक प्रणालीका कारण पनि अष्ट्रेलियामा हामीले दुख पाएका छौं । विशेष गरि हामी स्नातक तहमा पढ्नेहरुलाय नेपालमा एसाइनमेन्ट भनेकै थाहा हुन्न । त्यसैले यहाँ समस्यामा पर्र्न सक्छन् । अनि आर्थिक समस्याका कारण पनि कहिलेकाहीं विद्यार्थी जीवन नरमाइलो लाग्छ ।

कलेजमा लभ गर्नु ठीक कि बेठीक ?

माफ गर्नुहोला यो प्रश्न नै बेठीक लाग्यो । किनभने लभ भनेको कलेजमा मात्रै गर्नुपर्छ वा हुन्छ भनने छैन । फेरि कलेजमै लभ परे पनि ठीक वा बेठीक कसरी भन्न सकिन्छ र ? दुई आत्म मिलेपछि जहाँ पनि जतिखेर पनि लभ पर्न सक्छ ।

लभ लेटर पढ्न मीठो कि लेक्चररको लेक्चर ?

अहिले त लभ लेटरको जमाना कहाँ छ र ? त्यही पनि भन्नै पर्दा मेरो विचारमा लभ लेटर नै मीठो होला जस्तो लाग्छ । हाहाहा ।

twgg-advertise

कक्षामा कस्तो बेला निदाइन्छ ?

प्राय सधैंजसो निदाइरहेको हुन्छु । अलि कडा लेक्चरर पर्यो भने वा स्लाइडमा जे छ त्यही हुबहु पढेर सुनाइरहने लेक्चरर पर्यो भने निदाउने मात्र होइन सपना नै देख्न भ्याउँछ ।

कक्षामै देखेको कुनै सपना ?

हाहाहा दाइको विहेको सपना देखेको थिएँ । म त नेपालमा दाइको विहेमा सुटेडबुटेड भएर जन्त जाँदै रहेछु । तर विहे पूरा नहुँदै साथीले ब्युँझाइ दिएर अधुरै रह्यो ।

अष्ट्रेलियाले के सिकायो ?

अष्ट्रेलियाले धेरै थोक सिकायो । नेपालमा हुँदा सिन्को नभाँच्ने मान्छेलाई मिहिनेत र काम गर्न सिकायो । पैसा के हो ? त्यसको महत्व कति छ ? कमाउन कति दुख गर्नुपर्छ सबै सिकायो । सबैभन्दा ठूलोो कुरा अष्ट्रेलियाले मलाई जिम्मेवार व्यक्ति बन्न सिकायो । मान्छेको रुप चिनायो,आफ्नै खुट्टामा उभिन पनि सिकायो ।

अष्ट्रेलियाको सकरात्मक पक्ष के पाउँनुभयो ?

अष्ट्रेलियामा ठूलो र सानो भन्ने केही हुँदैन । न जातभात न कुनै काम नै सानो ठूलो,सबै समान । यसलाई मैले अष्ट्रेलियाको सकरात्मक पक्षको रुपमा लिएको छु । अनि सबैभन्दा ठूलो कुरा यहाँको हरेक कुरा एउटै प्रणालीमा चल्छ,त्यो मन पर्छ ।

अष्ट्रेलियाको नकरात्मक पक्ष ?

खासै त्यस्तो केही छैन । त्यही हो आफ्नो घर परिवारबाट टाढा हुँदा यादले सताइरहन्छ । झन् चाडपर्व आउँदा मन दुखिरहन्छ । असाध्यै नरमाइलो लाग्छ ।

अन्त्यमा अष्ट्रेलिया आउने तयारीमा रहनुभएका साथीहरुलाइ के भन्न चाहनुहुन्छ ?

देखेको र सुनेको अष्ट्रेलियाको पछि लागेर नआउँनुहोस् भन्न चाहन्छु । एउटा संघर्षको मैदानमा होमिदैछु भन्ने सोचेर आउँनुहोला । किनभने अष्ट्रेलियामा पाइला पाइलामा संघर्ष गर्नुपर्छ । तर त्यो संघर्ष खेर जाँदैन । मिठो प्रतिफल प्राप्त हुन्छ । दुखको कुरा गर्नुहुन्छ भने मैले नेपालमा बसेर जति सोचेको थिएँ,त्यसको सयगुणा बढी दुख गर्दैछु । तर त्यो दुखको प्रतिफल पनि आफैंले खाइरहेको छु । त्यसैले अब त त्यसलार्य दुख जस्तो लाग्दैन,बरु अझ गर्न पाए हुन्थ्यो भन्ने लाग्छ । अन्त्यमा अष्ट्रेलिया आउने तर्खरमा रहनुहुने सबै साथीहरुलाई हार्दिक स्वागत र बधाइ भन्न चाहन्छु । हामी जस्तो सामान्य व्यक्तिका अनुभवहरुलाई पनि प्राथमिकता दिएकोमा हिमालयन कङ्गारुलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु ।

प्रस्तुति :गोपाल सुवेदी

Comments

comments