विचार/ब्लग

अष्ट्रेलियामा मैले जे देखें र जे भोगें !

siddhartha

-सिद्धार्थ पौडेल

‘दाइ म पनि अष्ट्रेलिया आउँदै छु । भिसा लागिसक्यो । के के ल्याउन पर्छ यसो भन्दिनु न ।’ मैले अष्ट्रेलियामा बसोबास गर्ने दाइहरूलाई सोधेका कुराहरू हुन् यी । जवाफ— दैनिक चाहिने सामान ल्याऊ । एउटा कालो पेन्ट र कालो जुत्ता हाल्न चाहिं नबिर्सनु है !

ठुलै मान्छे बन्ने र पुन नेपाल फर्कने सपना सहित आइयो अष्ट्रेलिया । अब यताको कुरा त कति गर्नु, धेरै कुरा पहिलो पटक देखिदै, भोग्दै र अगाल्दै दिनहरू बित्दै छन् । सुरुमा कतै नेपाली जस्तो देख्यो भने बोल्न मन लाग्ने । कहाँ,को ? भनेर सोध्न मन लाग्ने । सोधियो पनि धेरै जनालाई । अनि खै किन हो कुन्नि नेपाली दाजु—भाइ, दिदी—बहिनीहरूलाई काठमाडौँबाट भने पछि ठूलै मान्छे भन्ने लाग्दो रहेछ क्यारे ! बागमती अञ्चल त के कुरा गर्नु पुरै मध्यमाञ्चल जता भए पनि काठमाडौँ भन्ने चलन रहेछ ।

अर्को कुरा, यहाँको जीवनशैली । मैले देखेको प्राय सबै जनाको २ वटा लाइफ हुँदो रहेछ यहाँ । एउटा कामको र अर्को चाहिं बिदेशी लाइफ (जुन नेपालमा हुनेलाई लाग्दछ) । आएको २÷४ दिन बाटै बुझियो त्यो कालो पेन्ट र कालो जुत्ता ल्याउनुको अर्थ । सरसफाईमा ध्यान दिनपर्ने ठाउमा काम गर्न चाहिं कालो पेन्ट र कालो जुत्ता अनिबार्य रहेछ । हुन त यस्तो कुरा गर्दा राम्रो नहोला, तर जुन ठाउँ मा दिशा गरेर धुनुको सट्टा पुछेर हिंडछन त्यही ठाउँमा सबै भन्दा धेरै सरसफाई गर्नपर्दो रहेछ ।

जति कुरा गरे पनि प्रायः हामी नेपालीहरूले यहाँ पहिला गर्ने भनेको काम चाहिं क्लिनिङ्ग नै हो । चाहे भाँडा होस् वा अरु कुनै कुरा । यहाँको बाताबरण नै यस्तो छ कि जति गर्दिनँ भने पनि केहि नगरी बस्न नसकिदो रहेछ । हुन त पुगे पो बस्ने केहि नगरी ! आफ्नो खर्च धान्नको लागि मात्र भएपनि काम गर्नै पर्छ यहाँ । नेपालमा जस्तो पैसा सकिदा कराउने र माग्ने ठाउँ नै कहाँ हुन्छ ? सबै भन्दा महँगो एजुकेशन, एकोमोडेशन र ट्रान्सपोटेसन (शिक्षा, बसाई र यातायात) जुन कुरा तिर्दिनँ भनेर सुखै छैन ।

खासमा भन्नु पर्दा नेपालमा डुलेर, बाउ आमालाई नटेरी हिड्नेहरूले सबक सिक्ने ठाउँ रहेछ अष्ट्रेलिया । तर जीवनलाई संघर्ष मान्नेहरुका लागि भने अवसरको खानी हो अष्ट्रेलिया । मैले अष्ट्रेलिया आफ्नो गन्तब्य किन बनाएँ ? किन आएँ ? भन्ने कुरा जान्न मन छैन मलाई । भनिन्छ, भगवानको कथा र मान्छेको व्यथा कहिल्यै पनि सकिदैन ।

अर्को बुझ्नपर्ने पाटो भनेको, यहाँ आफ्नासँगै धेरै डराउनपर्दो रहेछ । मतलब अरुले भन्दा नेपालीले नै नेपालीलाई हेप्ने र ठग्ने । पहिला काम पाउन गाह«ो, पाएपछि पैसा नपाईने भन्ने डर । सुरुबाटै काम गरेर सबै पैसा पाउने मान्छे मैले यो ४ महिनासम्म भेटेको छैन । जसको म आँफै पनि एउटा पात्र हुँ । केहि पाठ, केहि अनुभव र धेरै आशा बोकेर अर्को अझै राम्रो काम खोज्दा खोज्दा ४÷५ महिदा बित्दो रहेछ । भावनाका कुरा गरेर यसलाई झन् लामो नबनाउँ ।

काम र पढाई पछि गरिने रमाईलोको कुरै नगरौं । बाँधेर राखेको कुकुरको साङ्ग्लो फुकाल्दा पुरै गाउँ डुले जस्तो । अर्को कुरा यहाँ तैले यस्तो गरिस, वा कसैले घरमा भन्देला भन्ने डर पनि भएन, अनि त किन रोकिनु छ ? घर परिवारको बन्देजबाट स्वतन्त्र र आफैले कमाउन सक्ने भएपछि रमाइलो गर्न झन् सजिलो ।

नेपाली बिद्यार्थीे घरदेखि टाढा हुँदा कति धेरै स्वन्तन्त्र हुन्छन भन्ने प्रमाण हेर्न कुनै नेपाली इभेन्टमा जानै पर्छ । त्यहाँ छर्लंग देखिन्छ । जो जससँग, जसरी हिडे पनि कसैलाई कसैको वास्तै हुँदैन । यहाँ केटाकेटी सगै हिड्न भन्दा पनि केटी केटी वा केटा केटासगै हिड्दा बढी शंका गर्दछन् । पैसा खर्च गरेपछि सबै कुरा पाइने ठाउँमा अरु कुराहरूको त कुरै नगरौं, चाहना र पैसा हुन प¥यो बस् । नेपालमा भएका साथीहरूले फेसबुकमा रमाएका र घुमेका फोटोहरू राखेपछि हामी परदेशीलाई पनि दुखको कुरा किन हाल्न मन लाग्छ र ! आखिर दुःख देखाएर शत्रुलाई किन खुशी बनाउने ? यसरी नै महिना दिनको दुःख, एक दिनको रमाइलोसँग बिर्सेर उज्ज्वल भबिष्यको सपना देख्दै बित्दै छ हाम्रो अजिब अष्ट्रेलियन लाईफ ।

Comments

comments

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Most Popular

To Top