टोक्यो । प्याज काट्दा आँखा पीरो भएर आँसु नझार्ने को होलान् र ? प्याज काट्दा निस्किने भोलाटाइल नामक ग्याँसले हाम्रो आँखालाई सुख्खा पारिदिन्छ । त्यसैले हामीलाई पीरो महसुस हुन्छ । आँखा सधैं रसिलो रहने इन्द्रिय हो । त्यसैले यसलाई रसिलो बनाइदिने तन्दु आफैं सक्रिय हुन्छ । यसकारण प्याज काट्दा आँखामा आँसु आउँछ ।

तरकारीमा नभई नहुने प्याजको यही एउटा अवगुण मानिन्छ । तर अब प्याजप्रेमीहरुले चिन्ता गर्न नपर्ने भएको छ । किनभने जापानका कृषि अनुन्धानकर्ताहरुले यस्तो प्याजको प्रजाति विकास गरेका छन्,जुन काट्दा आँखामा आँसु आउँदैन । बरु खुशीले तपाईको आँखा रसाउँन सक्ला । जापानका अनुसन्धानकर्ताहरुले झण्डै २० वर्षको अथक प्रयासपछि अनावश्यक ग्याँस रहित प्याज उत्पादन गर्न सफलता पाएका हुन् ।

उनीहरुले आँसुरहित यो प्याजको नाम स्माइल बल राखेका छन् । गोलो आकारको प्याज काट्दा आँसु नआउँने भएपछि सबैको मुहारमा खुशीको मुस्कान छाउने अपेक्षाले यो प्याजको नाम स्माइल बल राखेका हुन् । जापानले हाल परीक्षणका रुपमा उत्पादन गरेको यो प्याज केही समय अघि जापानको टोक्योका केही डिपार्टमेन्टल स्टोर र अनलाइन मार्फत विक्रीमा राखिएको थियो । अब छिट्टै जापानभर यो प्याज विक्रीका लागि राख्ने तयारी पनि भैरहेको बताइएको छ । तर कहिलेदेखि भन्नेबारे भने केही खुलाएको छैन । शुरुमा दुई दाना सहितको प्याकेटमा उपलब्ध हुने यो प्याजको मूल्य प्रति प्याकेट ४५० येन राखिएको छ । यो सामान्य प्याजभन्दा झण्डै दोब्बर महँगो हो ।

तर यो प्याजको स्वाद परम्परागत प्याज भन्दा केही फरक हुनेछ । किनभने यो प्याज खाँदा स्याउ र नास्पाती जस्तै गुलियो महसूस हुनेछ । तर जापानले प्याजमा पाएको यो सफलतालाई भने परिवर्तनकारी मानिएको छ ।

Comments

comments