काठमाडौं । बिपद व्यवस्थापनका लागि गैरआवासीय नेपाली संघ र नेपाली सेना मिलेर काम गर्ने सहमति भएको छ ।

भूकम्प, बाढी पहिरो लगायतका प्राकृतिक बिपदका बेला राहत सामाग्रीको प्रभावकारी भण्डारण र बितरणका लागि गैरआवासीय नेपाली संघ र नेपाली सेनाबीच सहमति भएको हो ।

बुधबार यस समझदारी पत्रमा गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष शेष घले र नेपाली सेनाका ब्यबस्था तथा युद्धकार्य महानिर्देशक उपरथी हिमालय थापावीच हस्ताक्षर भएको हो ।

समझदारीपत्रमा नेपाली सेना र गैरआवासीय नेपाली संघवीच उद्धार र राहतका लागि तालिम प्रदान गर्ने, उद्धारका लागि आबश्यक सामाग्रीहरु आदानप्रदान गर्ने तथा औषधि, लत्ताकपडा र खाद्यन्न जस्ता अत्याबश्यक मानवीय सामाग्री आदान प्रदान गर्ने सहमति भएको हो ।

सो अवसरमा प्रधानसेनापति क्षत्रीले नेपाली सेनाले गत बर्ष गएको भूकम्पका समयमा गरेको राहत र उद्धारबारे जानकारी गराउँदै एनआरएनले सहयोगको सरहना गर्दै नेपाली सेनाको तर्फबाट हार्दिक कृतज्ञता व्यक्त गर्दै धन्यवाद दिनु भयो ।

संघका अध्यक्ष घलेले सम्झौताले हामी सबैलाई अझ जिम्मेवार बनाएको तथा राहत वितरणमा नेपाली सेनाले पुर्याएको सहयोगका लागि धन्यवाद दिंदै सिमित श्रोतसाधन भएता पनि नेपाली सेनाको मनोबल र कार्यक्षमताबाट आफू निकै प्रभावित भएको वताउनुभयो ।

नेपाली सेना जस्तो स्रोत, साधन र जनशक्तिको सञ्जाल भएको संस्थासंग सहकार्य गर्न पाउनु गैरआवासीय नेपालीहरुका लागि ठूलो अबसर हो भन्दै अध्यक्ष घलेले महाभूकम्पका बेला एनआरएनले गाउँगाउँमा सहयोग बितरण गर्दा नेपाली सेनाबाट अबिस्मरणीय सहयोग पाएको स्मरण गर्दै औपचारिक रुपमा सहकार्य गर्दा बिपद्ब्यबस्थापन निकै प्रभावकारी हुने बिश्वास ब्यक्त गर्नुभयो ।

घलेले यस सम्झौताले एनआरएनए र नेपाली सेनावीच हुनसक्ने सहयोगका क्षेत्र र आधार तय गर्न एक कार्यदल निर्माण गरी काम अगाडी बढाइने जानकारी दिनुभयो ।

यो समझदारी पश्चात बिश्वभरबाट नेपालीहरुले संकलन गरेका राहत रामाग्रीहरु पिडीत समुदायसम्म बितरण गर्न नेपाली सेनाले स्रोतसाधन र जनशक्ति उपलब्ध गराउने छ ।

यसैगरी गैरआवासीय नेपाली संघले बिपद व्यवस्थापन युनिटलाई आबश्यक पर्ने सामाग्रीहरु सहयोग गर्ने छ भने नेपाली सेनाको बिपद् ब्यबस्थापन क्षमतालाई अभिबृद्धि गर्ने तालिमका लागि समेत सहयोग गर्ने छ ।

Comments

comments