विचार/ब्लग

गायक कर्णदासका प्रशंसक भन्छन्– तिमीसँग नभेटिएकै जाति हुन्थ्यो !

shree

–श्रीकृष्ण सिलवाल

मनले नचाहँदा नचाहँदै पनि मन कठोर बनाएर तिमीलाई बिदाई गर्नुपरेको छ । एक दशकको लामो अन्तरालपछि तिम्रो हृदयस्पर्शी गीत र मखमली स्वरले बाँधेको मनलाई फुकाएर फेरि निराश हुनुपरेको छ । हो,कर्ण तिमीसँगको मिलन र तिम्रा गीतहरु सुनिसकेपछि मनमा तरंगिन थालेका खुशी,सन्तुष्टि र आत्मीयताका छालहरुलाई रोकेर फेरि भेट्ने आशा राख्नपरेको छ । यति आशा बोक्दै गर्दा अन्तरआत्मामा अर्को डर पनि उब्जेको छ,कतै दश वर्ष अगाडि जस्तै फेरि पनि तिमी हामीबाट टाढिएर तिम्रो मेरो सम्बन्धको अर्थ खोज्न बाध्य बनाउने त होइनौ ?

२४ अप्रिलको त्यो रात मेरो जीवनकालकै अविस्मरणीय रात बन्न पुग्यो । तिम्रा गीत सुनेर धेरै चोटि रसाएका यी आखाबाट फेरि एकचोटि खुशी र पीडाको आँसु एकै साथ झार्न बाध्य बनायौ । यो कठोर भैसकेका ह्रदय तिम्रो स्वरको तरंगले खै कसरी नौनी जस्तै पग्लिन थालेछ, आँखाबाट बग्न थालेपछि बल्ल हेक्का भयो । तिमी स्टेजमा एक सुरले गाइरह्यौं, यता एउटा कुनामा बसेर म भने तिम्रो ’परदेशबाट छोरो’ गीतको छोरोमा आफैंलाई रुपान्तरित गरेर भित्र भित्रै छट्पटाइरहें । लाग्थ्यो,कतै त्यों गीतमा मेरै कथा त समेटिएको होइन ? कतै मेरि आमा पनि यहि शब्द गुनगुनाउदै त छैनन् भन्ने आशंकाले मन भित्रभित्रै विचलित भैरहेको थियो ।

तिमी स्टेजमा एक सुरले गाइरह्यौं, यता एउटा कुनामा बसेर म भने तिम्रो ’परदेशबाट छोरो’ गीतको छोरोमा आफैंलाई रुपान्तरित गरेर भित्र भित्रै छट्पटाइरहें । लाग्थ्यो,कतै त्यों गीतमा मेरै कथा त समेटिएको होइन ?

तिम्रा कण्ठबाट ’फर्कि आउ शान्ति’ भन्ने शब्दहरु लयबद्ध भएर गुञ्जिदै गर्दा यो मनमा भने स्वयम् बुद्धनै प्रकट भएको अनुभूति हुँदै थियो । सांच्चै कर्णदास तिम्रो त्यों आवाजमा सत्यता,स्वच्छता र पवित्र भाव लुकेको छ । लाग्थ्यो तिमीभित्र साक्षात ईश्वर लुकेको छ । शायद त्यसैले पनि होला सेलिब्रेटीहरुलाई उनका फ्यानहरुले भगवान नै मानेका !

karnadasयसअघि पनि तिम्रा गीतहरु मैले नसुनेका होइनन् । तर परदेशको भूमीमा तिम्रो प्रत्यक्ष गायनमा आफ्नै जीवनका भोगाइ र भावनाहरु लयत्मक रुपमा सुन्न पाउँनुलाई मैले ठूलै भाग्यको फल मानेको छु । तर तिम्रो आगमनमा उज्यालो छाएको यो मेलबर्न,फेरि तिम्रो बिदाईमा अध्यारोमा हराउँन थालेको हो कि भन्ने भान पर्न थालेको छ । यति लेख्दै गर्दा यो मनले फेरि भन्दै छ ’भेंटिएर छुट्नु भन्दा नभेटिएकै जाति हुन्थ्यो’।

हुनत गीत संगीतको कुनै दुरि हुदैन भनिन्छ । आउदा दिनमा तिम्रा गीतले हाम्रो दुरि पक्कै पनि मेटाइदिनेछन् । तिमीले जीवनको छाल पार गर्ने क्रममा पूरानो डुङ्गाबाट भर नलागेपछि नयाँ डुङ्गा किन्न अब श्रोता र दर्शकहरुसँगको साइनोमा तगारो हाल्नुपर्ने दिन आउँनेछैन । एउटा श्रोता र प्रशंसकको तर्फबाट शुभ कामना ।

बस् टुङ्ग्याउँनु अघि तिम्रो मेरो त्यो पुरानो सम्बन्धलाई फेरि नजिक ल्याउन पहल गरिदिनु भएकोमा सेभेन इपिक इन्टरट्न्मेन्ट टिमलाई मुरी मुरी धन्यवाद ।

Comments

comments

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Most Popular

To Top