तीन वर्षीया एक बालिकालाई १५ सय रुपैयाँमा किनेर खगेनकोट– १ जाजरकोटका प्रेम वादी र उनकी पत्नी विष्णु आमा–बाबु बनेका छन् ।

आफ्ना सन्तान नभएका उनीहरूले भेरी नदीमा फालिएकी बालिकालाई किनेर ती बालिकाको अभिभावक बनेका हुन् । किनिएकी बालिकाका आमा–बाबु बनेको घटनालाई भने उनीहरूले तीन वर्षसम्म गोप्य राख्दै आएका थिए ।

किनेर पालेकी ती बालिकालाई उनीहरू छोरी भनेर हुर्काउँदै छन् । माछा मार्ने क्रममा भेरी नदी किनारमा भीमबहादुर वादीले ती बालिकालाई फेला पारेका थिए । भीमबहादुरसँग प्रेमले १५ सय रुपैयाँ तिरेर बालिका किनेका थिए ।

माछा मार्न १५ भदौ ०६८ मा भेरी नदी पुगेका भीमबहादुरले बालिकाकी आमाले १५ दिनकी शिशु फाल्दै गरेको फेला पारेका थिए ।

बालिकालाई नदीमा फाल्नबाट जोगाएका भीमबहादुरले बालिका आफूले लिए भने बालिकालाई जन्मदिने आमाचाहिँ त्यहीँबाट भागिन् ।
बालिकाकी आमाले अवैध सम्बन्धबाट जन्मेको बताए पनि आफ्नो परिचय नदिई भागेको भीमबहादुरले बताए ।

भीमबहादुर र प्रेम दुवैले माछा मारेर जीवन गुजारा चलाउँदै आएका छन् ।

Comments

comments